दुर्घटना र घटना
PDF Print E-mail

Thu, Aug 1st, 2013 :

दुर्घटना घट्नै पर्ने थियो, सायद।

lekhnath_literature_1375332745indira prasai.jpg

घटयो पनि त्यसैले।

तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन।

दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन अमिलो भएर आयो । उसको बुबा भने दिनभरिको थकान बिसाएर मस्त निद्रामा पुगिसकेका थिए । उनलाई हेर्छु क्या निश्चिन्तताको निद्रा ! म पनि यसरी नै निदाउन सके कस्तो हुन्थ्यो ! फगत कल्पन्छु । कसै गरे पनि आफूचाहि निश्चिन्त हुन नसक्ने रहेछु।

अनायास कसैले ढोका ढकढक्याएझैं लाग्छ । भ्रान्ति पनि हुन खोज्थ्यो कतिकतिखेर। हतपताएर ढोका खोल्न पुग्छु। निस्तब्ध चकमन्नता मात्र थियो बाहिर । छोरीहरूको कोठातिर फर्कन्छु । ठूली छोरीको बिछयौना रित्तो थियो। ऊभन्दा पन्ध्र वर्षसानी छोरी सपनामै मुसुक्क हाम्सिरहेकी थिई । चिन्तित मेरो मानसपटलमा उसको अबोध चेतनापरिदृश्यले एकैछिनका लागि भए पनि मलाई धपक्क तुल्याउन खोजेको थियो।

अबचाहिं ढोका निकै जोडले ढकढक्याएको आवाजमा कुनै भ्रान्ति थिएन। म हतारिंदै ढोका खोल्न पुग्छु। आफ्नो शरीरको सम्पूर्ण भारी मेरा अँगालोमा खन्याएर सुमिता फुसफुसाइरहेकी थिई, “मम्मी!”

त्यसपछि ऊ अविरल आँसुको वर्षामा भक्कानिन थाल्छे । छटपटाहटबाट प्रतीक्षारत छोरीको आगमनले अलिकति ढुक्क हुन पुगेकी मचाहिँ उसको यो भक्कानोले किनकिन आशङ्कित हुन थाल्छु।

मभन्दा दुइ इन्च अग्ली र झन्डै दोहोरो शरीर भएकी उसलाई मुस्किलले कोठासम्म पुर्‍याएपछि पनि ऊ एकनास रोइरहेकी हुन्छे । उसको आँसु पुछेर सशङ्कित हुंदै उसलाई राम्ररी नियाल्न थाल्छु। उसको कुर्थाका केही टाँकहरू चुँडिएका र चिउंडोमा दाँतले टोकेका केही दागहरू पनि प्रस्टसंग देख्छु। मनभरि शङ्काको पर्खाल उभ्याएर उसको कुर्थाको तल्लो फेर र सुरुवालतिर पनि आँखा गाड्छु।

इस्तिरी गरेर लगाएको लुगाको आभाससम्म त्यहाँ पाइनँ मैले। त्यो कुर्थासुरुवाल पनि मैला लुगाहरूको थुप्राबाट भर्खरै झकिेर लगाएजस्तो लाग्थ्यो।

सुमिता अझै रोइरहेकी थिई । एकनास उसको रुवाइ र आवरणको अस्तव्यस्तताले मेरो मनभित्र भर्खरै आशङ्कित एउटा भयङ्कर दुर्घटनाग्रस्त नियतिलाई सकारिरहेको थियो। म मुख फोरेर उसलाई केही सोध्न सकिरहेकी हुन्न । रुंदारुंदै ऊ निदाई । बिहान राम्ररी कुरा गरौंला भन्ने सोचेर म पनि आफ्नो कोठामा गएर चिन्ता-दुश्चिन्ता कल्पदाकल्पंदै झपक्क निदाएको पत्तै भएन।

“ए अन्तरा ! लौन के भयो यो !” सुमिताको बुबाको कङ्कलाले बिउँझनि पुगेछु म।

सुमिताको बुबाले त्यसरी आत्तिएर कराएपछि म पनि अर्धनिद्रामै सुमिताको कोठातिर आइपुगेकी हुन्छु। सारीको पासो लागेर सिलिङ पङ्खामा झुन्डिरहेकी सुमितालाई देखेर आफूलाई चिमोट्छु। एकैचोटि सारा तन्द्रा भङ्ग भएपछि अगिल्तिर आइपरेको कटु सत्यसित आत्मसात् गर्न थाल्छु। सुमिताको बुबाले कुर्सीनेर ल्याएपछि दुवै पतिपत्नीले बडो मुस्किलसंग छोरीलाई पासोबाट निकाल्न सफल भएका थियौं।

त्यसपछि डाक्टरलाई हामीले कसरी बोलायौं, सुमिता कसरी मृत घोषित भई, दाहसंस्कार कसरी सकियो, ती सबै मेरा मानसपटलमा अस्पष्ट रहेका छन्।

सुमिताको मृत्युको दोस्रो दिन सानी छोरी सञ्चिताले एउटा कागज फेला पारेर दिएकी थिई।

‘मेरो प्यारो मम्मी, डयाडी!

आज मलाई साथीको घरमा उसका दुइ जना दाजुहरूले हातखुट्टा बाँधेर बलात्कार गरे। मम्मी ! हजुरले सधैं भनिसिन्थ्यो एक पटक आइमाईको इज्जत गएपछि फकंदैन । अब मैले बाँचेर पनि के गर्ने ! कुन मुखले हजुरलाई मुख देखाउने! त्यसैले म जाँदै छु। मलाई माफ गरिदिसेला।

-हजुरहरूकी छोरी सुमिता।’

त्यो चिठी यथावत् छ मसित। चिठीका एकएक अक्षरले मलाई यदाकदा कोर्रा हिर्काउने गर्छन्। यसरी मेरी छोरी सुमिताले आत्महत्या गरी वा मैले नै उसको हत्या गरें, यो प्रश्नले मलाई पिरोलिरहन्छ। सारा समाजले सुमिताले आत्महत्या गरेको ठहर्‍याएका छन्। तर म आफू भने सुमिताको हत्या मैले नै गरेकी हुं कि भन्ने महसुस गर्छु आफैले आफैलाई धिक्कारें पनि मैले । किन मैले उसलाई आइमाईका फोस्रा आदर्शको पाठ मात्र पढाएं। शिक्षित आमा हुनुको अर्थ मैले किन आइमाईको समयानुकूल परिभाषा बनाउन सकिनं! आफूले हासिल गरेका पुरातन संस्कारहरूका हतियारले मैले आफैंले सुमिताको हत्या गरेकी त होइन ? निकै लामो मानसिक सङ्र्घर्षपछि मात्र सञ्चितापट्टि मेरो ध्यान गएको थियो। सुमिताको वार्षिक पुण्यतिथिमा उसको बुबाले के चढाए मलाई थाहा भएन। मैले चाहिं आफ्ना पुराना आदर्श र थोत्रा संस्कार सबैसबै उसलाई चढाएं र त्यसपछि ती सबैबाट मुक्त हुने प्रयास गरेकी थिएं।

अब सुमिताप्रति खन्याइने गरेका सम्पूर्ण ममताका उच्छ्वासहरू सञ्चितामै पोखिने गरेको थियो। समयसंगसंगै यो घाउमा खाटा बस्दै गयो। तर एक दशकपछि मेरो जीवनमा फेरि एउटा यस्तै प्रसङ्गले पुनरावृत्ति लियो।

अर्थात् घटना यसरी घटयो।

त्यस रात सञ्चिता सदाभन्दा अबेरसम्म घर आइन। हुन त ऊ आफ्नो प्रोजेक्टको काममा कैयौं पटक बाहिर नै ‘नाइट हल्टेज’ गर्ने गर्थी । तर पनि मेरो मन मान्दैनथ्यो। जतिसुकै आधुनिकतातिर लम्किन खोज्दा पनि मभित्रको खण्डहरमा लुकेको पुरातन मानसिकताले बेलाबखत मलाई जिस्क्याउन आउने गथ्र्यो। त्यसैले त्यस रात पनि म ढुक्क नभई चिन्तित हुन पुगें । तर आधारातसम्म ऊ आइन। म झपक्कै निदाएछु।

बिहान अलि अबेरसम्मै मेरा आँखा खुलेनन् । बिउँझनिासाथ भारी मन बोकेर सञ्चिताको कोठामा पुगें। ऊ मस्त निदाएकी देखेर केही आश्वस्त भएं । ढोकासम्म पुगेपछि किनकिन मन ढक्क भएर फुल्यो र फेरि फर्केर उसकै बिछयौनाको किनारमा बसेर उसलाई नियालिरहें। टाइट स्ट्रेच जिन्स र लुनेक र्सटमा कस्सिएको उसको शरीर र मसरुम कट कपाललाई पनि हाइड्रोजनले रङ्गाएको कान्तिवान् अनुहार देखेर मभित्रका चिन्ताका बादलहरू बिस्तारै हटेर गए। ‘कति अल्छी केटी, नाइट गाउन पनि नफेरी सुतिछ।’

मनमनमा भुतभुताउंदै उसलाई नै मायालु आँखाले हेरिरहें।

कसोकसो मेरो उपस्थितिको आभास भयो कि सञ्चितालाई ! ऊ बिउँझी । मलाई देखेर मुसुक्क हाँसी। मेरो हात समातेर म्वाइँ खाई। मनमनै आनन्दित भए पनि बाहिरबाहिर रिसाएझैं देखाएर मैले उसको हातबाट आफ्नो हात झट्कारें।

“राति त्यति अबेर गर्न हुन्छ ? फोन पनि गर्न सक्थ्यौ नि ! तिमीलाई बाहिर निस्केपछि घरमा तिम्रो निम्ति चिन्ता गर्ने पनि छन् भन्ने होस हुन्न होइन ? अहिलेचाहिँ चेपारो पाछ्र्र्यौ।”

म नक्कली रिस देखाउंछु । ऊ बोल्दिन, मुसुमुसु हाँस्छे मात्र। “किन सन्चो नभएजस्तो छ नि!” म आफ्नो यथास्थितिमा तुरुन्तै फर्कन्छु।

“मम्मी, हिजो राति मलाई तीन जना केटाहरूले बलात्कार गरे।” उसले यी शब्दहरू सहजतापूर्वक भनेपछि ममाथि एकैचोटि आकाश खसेजस्तो भयो। मेरो घाउमा कसैले हिंस्रकतापूर्वक नुनखुर्सानी दलेजस्तो मलाई अनुभव भयो। म अत्तालिएर निसासिएं । मेरो मस्तिष्क शून्य भयो। धेरै टाढा हुत्तियो मेरो मानसको हंस। र, यहाँका सम्पूर्ण वस्तुहरू सूक्ष्मातिसूक्ष्म भएर बिलाएझैं भइरह्यो। निमेषभरमै म यथास्थितिमै फर्किएं र सञ्चितालाई अँगालो हाल्न पुगें । त्यसपछि भक्कानो फुटाएर रुन थालेछु म।

“टेक इट इजी मम। आइ रियल्ली इन्ज्वाइड इट, आइ एम ओ.के., बट टु टायर्ड।”

उसले मेरो टाउको मुसार्दै भनी र मेरो आँसु पुछ्न थाली। मैले अचम्म मानेर उसको अनुहारमा हेरिरहें, उसले टाउको हल्लाई। त्यहाँ कुनै अपराधबोध, पश्चात्ताप वा भवितव्यका रेखाहरू थिएनन्।

“मम्मु ! आज म क्लिनिक जान्नँ। बरु तिमी तामाबोडीको झोल पकाऊ ल, खूब भोक लागिरहेको छ।”

मसंग कुनै शब्द थिएन। म त्यस बेला निःशब्द भइरहें । चेतनविहीनताको मूर्तिजस्तो एकनास उसको अनुहारमा टोलाइरहें।

“मम्मु ! मलाई एक चोटि त्यो कर्डलेस देऊ न। बेलुकी डा. शोभासंग कन्सल्ट गर्नुपर्‍यो।”

अनायास उसले मेरो ध्यानाकर्षण गरेपछि यन्त्रवत् मैले उसलाई कर्डलेस फोन ल्याएर दिएं। त्यसपछि ऊ डा. शोभासंग फोनमा कुरा गर्न थाली।

सञ्चिताले यस प्रसङ्गलाई सहजतापूर्वक लिएकी थिई। उसले यसलाई कुनै दुःस्वप्नजस्तो नियति वा प्रपञ्चमा लिएको अनुभव भएन मलाई। समयले फड्का मात्र हानेको थिएन, एउटा दुर्बोध सिलसिलालाई पनि परिष्कारका रूपमा निर्धारण गरिसकेको थियो। विगत र वर्तमानको दोसाँधमा उभिएकी मचाहिं दुवै झयालसित परिचित थिएं, र आफैं आफूसित अस्वीकृत पनि।

भोलिपल्टदेखि निश्चित समयमा सञ्चिता क्लिनिक जान थाली। म भने दस वर्षअघिको दुर्घटना र भर्खरै घटित यस घटनाको तारतम्यलाई केलाएर सहज-असहज खोज्ने क्रममा डुब्दै गइरहेकी थिएं।

Total : 3 comments

Veljko wrote on 2014-04-02,
Canllig all cars, calling all cars, we're ready to make a deal.
Bruna wrote on 2014-04-03,
Got it! Thanks a lot again for hepnlig me out! http://glzrioupevy.com [url=http://oekdsnk.com]oekdsn
Dosto wrote on 2014-04-04,
What a joy to find sooemne else who thinks this way.

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box