शिवानीसिंह थारुको पहिलो प्रेमकथा- हरियो घर
PDF Print E-mail

Fri, Jun 7th, 2013 :

सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको रोमाञ्चक उपन्यासको सिरिज द फेमस फाइभबाट प्रभावित भएर हामीले आफैंलाई ‘फेमस फाइभ’ भनेर घोषणा गरेका थियौं । सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको रोमाञ्चक उपन्यासको सिरिज द फेमस फाइभबाट प्रभावित भएर हामीले आफैंलाई ‘फेमस फाइभ’ भनेर घोषणा गरेका थियौं ।

lekhnath_literature_1370602163First-love-shivani.jpg

छात्रावासमा बाहिरको खानेकुरा ल्याउन वर्जित थियो । र, हाम्रो वीरांगनाको कथा यही सीमा तोडेर सुरू हुन्थ्यो । बाहिरी खानेकुरा भित्र स्मग्लिङ गर्नेदेखि, टेस्टमा कम नम्बर ल्याउँदा टेस्ट पेपरमा होस्टेल मेट्रनको नक्कली हस्ताक्षर गर्नेसम्मको बदमासी छाडेका थिएनौं हामीले । तर त्यसलाई हामीले ‘एडभेन्चर’को रुपमा लिन्थ्यौं, ‘द फेमस फाइभँको सिको गर्ने धूनमा । एसेम्ब्ली लाइन अगाडि हाम्रो नम्बर जहिले पनि काढिन्थ्यो पिटाइ खान । ‘टु, एट, सेभेन्टिन, ट्वेन्टी एट एन्ड सेभेन्टी फोर, याँ आइजो तिमोरु,’ दार्जीलिङे लवजमा होस्टेल मेट्रन जहिल्यै कुर्लिन्थिन् ।

हामीलाई कहिले वाइवाई पैठारी गरेकामा त कहिले मेट्रनको भान्सामा चिकेन करी सफाचट गरेकामा सजाय हुन्थ्यो । कहिले त हामीलाई पर्खालबाहिर लिटिल एन्जल्सका केटालाई हेरेको अभियोग पनि लाग्थ्यो । बदमासी गर्दागर्दा हाम्रो छवि यस्तो बन्यो कि नगरेको बदमासीको मार पनि सहिन्थ्यो । क्लासमा एकजना साथी थिई, प्रिती थापा । छात्रावासमा सँगै नबसे पनि ऊ हामीकहाँ टयुसन पढ्न आउँथी । उसको घर हाम्रो छात्रावास नजिकै थियो । हामी उसलाई पैसा दिन्थ्यौं र उसैले हामीलाई पसलबाट खानेकुरा ल्याइदिन्थी । कहिलेकाहीँ छुट्टी पर्दा उसले चाउचाउ र चक्लेट हाम्रो छात्रावासको पछिल्तिरको होचो पर्खालमा राखेर जान्थी । हामी कोही नभएको बेला सुटुक्क लिएर आउँथ्यौं । यस्तै खुफिया आदानप्रदानको मेसोमा एक दिन उसले ‘लभलेटर’ पनि लिएर आई मेरा लागि ।

छात्रावास पछिल्तिरको चौरमा बनाइएको थियो मंकी क्लाइम्ब र रोटे पिङ । त्यही चौरको होचो पर्खाल पछाडि थियो स्यानो गल्ली र गल्लीसँगै बन्दै थियो एउटा घर । खासै दुरी नभएकाले बन्दै गरेको घर छात्रावासको पछिल्तिरबाट टड्कारै देखिन्थ्यो । हुन त बन्दै गर्दा त्यो घर हाम्रो सरोकारको विषय थिएन । तर जब त्यो घर चहकिलो हरियो रङमा रंगियो र त्यहाँ एउटा परिवार बस्न आयो, तब सुरू भयो एउटा नयाँ अध्याय । छात्रावासको पछिल्तिर विद्यार्थीहरु कोही हिँडेर, कोही बसेर, कोही आँखा चिम्लेर पाठ घोक्थे । मलाई त कक्षा नौमा हिसाबको हल पनि घोक्ने बानी परिसकेको थियो । म पनि रोटे पिङमा घुमीघुमी पाठ घोक्थेँ । अझ साँस्साँझ फेमस फाइभको अड्डा त्यहीँ जम्ने गथ्र्यो । त्यसमाथि रोटे पिङमा हामी मच्चीमच्ची गीत पनि गाउने गथ्र्यौं ।

एकदिन टयुसन हलमा छिर्नेबित्तिकै प्रितीले भनी, ‘सुन्न आज तिमोरुलाई एउटा डेड्ली कुरा भन्नु छ ।’ हामी पाँचैजनाले कान प्रितीतिर सोझ्यायौं । तर ऊ केही नभनी एकछिन मस्किरही आफैंआफैं । हामी भने व्यग्र भएर उसको कुरा सुन्न तम्सिरहृयौं । ‘शिवालाई त एकजनाले मन पराउँछ नि,’ उसले भनी । म त ट्वाँ परेँ । साथीहरु एकछिन प्वाक्क परेर मलाई नै हेरिरहे । चारजना साथीहरु घोक्रो सुक्ने गरी कराए, ‘नहीऽऽ ।’ (परिस्थितिलाई बढाइचढाइ गर्नुपरेमा हामी यस्तै फिल्मी अन्दाजमा नाटकीय भैहाल्थ्यौं ।) लाजले भुतुक्कै भएँ ।

साथीहरुले त्यो केटा को हो भनेर प्रितीलाई सोधे । सोध्न त मलाई तिनीहरुभन्दा अगाडि नै मन थियो । अर्कै अर्थ निस्केला भन्ने डरले लजाएर खुम्चेझैँ गरेँ । साथीहरुको जिस्काजिस्की र ही…हा अलि सामसुम भएपछि प्रितीले बल्ल ‘डेड्ली’ कुराको कुटुरो फुकाई, ‘शिवालाई मेरो भाइले मन पराउँछ ।’ प्रितीका पाँचजना दिदीबहिनी मात्र थिए, भाइ कताबाट आयो ? साथीहरुले अचम्म माने । ‘मेरो कजन भाइ पर्ने क्या,’ हामीले नपत्याएपछि उसले भनी । ‘ऊ त्यही घरमा बस्छ’ भन्दै उसले हामी पढिरहेको डाइनिङ हलबाट देखिने पारिको हरियो घर देखाई । पर्खालबाहिरको गतिविधिमा जति चासो दिए पनि त्यति नजिक ठडिएको हरियो घरबाट हामीलाई हेरिरहने कुनै केटाको भेउ त्यस बेलासम्म पाउन सकेका थिएनौं । आँखा तन्काएर हामीले एकपटक उतै हेर्‍यौं ।

‘आशिष थापा,’ प्रितीले नाम पनि भन्दिहाली । हामीलाई कुत्कुत्याउँदै ब्यागबाट चिठी निकाली मस्कीमस्की । चिठीले ब्यागबाट हल्का चिहाएको मात्र के थियो, सबैजना झम्टाझम्टी गर्न थालिहाले । बिहा गर्ने बेहुलाबेहुली भन्दा जन्ती रौसेजस्तो । मनमनै कम्ता रिस उठेको थिएन । चाचार जनाको चालीसवटा औंलाको छाप परेपछि बबुरो चिठी बल्ल मेरो हातमा आइपुग्यो । चिठी पढी सक्काएर एकछिन त म अलिनो मुस्कानमै सीमित भएँ । मनमनै छया भन्दै बसिरहेँ । तीलजत्रो कुरा पनि केरेर हेर्ने भएकाले फरक पर्‍यो सायद मलाई । किनभने केटोले लेटर प्याडमा चिठी नलेखेर कापीको पानामा लेखेको थियो । त्यो पनि व्याकरण नमिलेको अंग्रेजीमा । त्यसमाथि अक्षर पनि ‘हेन-राइटिङ’ जस्तो । उसले आफूलाई राम्ररी व्यक्त पनि गरेको थिएन वा गर्न सकेन । फेरि आशिष मभन्दा दुई वर्ष कान्छो र कक्षामा पनि एक वर्ष स्यानो भनेर थाहा पाउँदा मलाई त झनै छयाऽऽ भन्ने भयो । प्रेम प्रस्ताव स्विकार्ने कुनै आधार थिएन ।

मैले प्रस्ताव अस्वीकार गरिदिएँ । प्रितीले मलाई फकाउन थाली । भनीः आशिषले मलाई आˆनो कोठाबाट सधैं हेरिराख्छ रे । म रोटे पिङमा घुमीघुमी पढिरहँदा ऊ खाना खान पनि तल झर्दैन रे । शनिबार नुहाएर मैले कपाल छोड्दा त्यतिबेला ऊ मलाई हेर्‍याहेर्‍यै हुन्छ अरे । उसको कुरा सुनेर साँच्चिकै केटोले मेरो हरेक कुरालाई पछयाउँदो रहेछ भन्ने मनमा लाग्न थाल्यो । तर मभन्दा मेरा साथीहरु पो रोमान्टिक हुन थाले । साथीहरुले प्रस्ताव स्विकार्न दबाब दिए ।

मैले अनुहार नहेरी त कहाँ हुन्छ भनेँ । साथीहरुले सम्झाए, यस्तो माया गर्ने केटा कति नै हुन्छ र ! भन्नै पर्दा केटाको मायासँग उनीहरुको केही लेनादेना थिएन । वास्तवमा मेरा साथीहरुका लागि त्यो पनि एउटा ‘रमाइलो’ थियो, जसले छात्रावासको पटयारलाग्दो जीवनलाई केही चटपटे बनाउँथ्यो । त्यसैले मेरो नाइँनास्ती कस्ले सुन्ने । साथीहरुले ‘हुन्छ’को स्टयाम्प लगाइदिए । रहृयो कुरा, केटोको नाकनक्सा हेर्ने । त्यो तय भयो अर्को दिनका लागि । हाम्रो खाजा खाने बेला केटो छतमा आउने र म पनि त्यही समयमा रोटे पिङमा केही खोज्न गएजस्तो गरेर उसलाई हेर्ने । पि्रतीले यही सन्देश लिएर गई ।

र, अर्को दिनको ‘काउन्टडाउन’ सुरू भयो । रातभरि मेरो मनमा उथलपुथल चलिरहृयो । केटोले मलाई छतबाट हेरिराख्दा म कस्तो देखिएकी थिएँ होला ? मजस्ती कालीलाई किन मन पराएको होला ? केटोको अनुहार कस्तो होला ? उर्लंदो बैंसको तोडै भनुम् क्यारे, यसरी सोच्दा मन गार्डन-गार्डन भएर आउँथ्यो । तर अर्को मन भन्न थाल्थ्यो- घरकाले थाहा पाए भने के भन्लान् सोच्दिनँ भन्यो, तर फेरिफेरि मनमा हल्ला सुरू भइहाल्थ्यो । बल्लतल्ल निद्राले भेटे पनि त्यसरात सपना देखिएन ।

भोलिपल्ट स्कुल जानुभन्दा अगाडि साथीहरुले मेरो अव्यवस्थित आवरणलाई चिरिच्याट्ट बनाउन कम्मर कसे । मैले केटो बाटोमा भेट्ने भए पो सिँगारिने, होस्टेलपछाडि नै हेराहेर कार्यक्रमका लागि पनि किन तामझाम गर्ने भन्दा पनि उनीहरुले मानेनन् । साँच्चि भन्नुपर्दा मेरो आवरण अनाकर्षक नै थियो । कम्मरसम्मको लामो कपाललाई तेल हालेर च्यापुल्ले बनाएर राख्थेँ । केटीहरु फेसनेबल हुन स्कुलको जामा घुँडासम्म बनाउँथे । तर मेरो जामा भने घुँडाभन्दा पनि तल झर्ने गथ्र्यो । त्यसमाथि मेरो कमिजमा इस्त्री कहिले पनि हुँदैनथ्यो ।

म बरू जरिवाना तिरिराख्थेँ समयसमयमा, तर इस्त्री लाउन भनेपछि मेरो ज्यान नै खुम्चिने गथ्र्यो । किन हो मेरो मोजा प्रायजसो हराइरहन्थ्यो । आजित भएर मैले बेजोडी मोजा लगाएर काम चलाउथेँ । जुत्ता पालिस गरिएको हुँदैनथ्यो । अझ स्कुल जाँदा बाटोका ढुंगाहरुलाई किक मार्दै हिँड्ने बानीले जुत्ताको अघिल्लो भाग फुस्रो भइसकेको हुन्थ्यो । मेरा साथीहरु मलाई ‘लेडिलाइक’ बनाउन कस्सिए । मेरो दुईसरो लामो कपाललाई काटेर अगाडि निधारमा लर्काए, हिन्दी फिल्ममा चलेकी माधुरी शिवानीसिंह थारु । दीक्षितको स्टाइलमा । चेरी ब्लुसम बुटपालिसले जुत्ताको सेतो फुस्रोलाई डेन्टिङ-पेन्टिङ गरिदिए । नम्बर ‘टु’ले सिलाइबुनाइमा अब्बल एकजना साथीलाई गुहारेर मेरो लामो जामालाई कलमा सिलाएर घुँडासम्मको बनाइदिई । नम्बर ‘सेभेन्टिन’ले कमिजमा इस्त्री लगाइदिई । हामीमध्ये की सबभन्दा धनीमानी साथी नम्बर ‘एट’ले त झन् आफ्नो नयाँ मोजा नै मलाई अर्पण गरिदिई । मैजस्ती बिन्दास नम्बर ‘सेभेन्टी फोर’ भने खाली हाँसेर बसिरही ।

मैले स्थितिको गम्भीरतालाई गमेँ र लौ त भनिदिएँ । मलाई आफ्ना लागि भन्दा पनि मेरा साथीहरुका लागि लभ गरिदिएजस्तो लाग्न थाल्यो । त्यस दिन स्कुल त गइयो । तर पूरै अर्कै चालढाल र रंगरोगनमा । स्कुल जाने लाइनमा हिँड्दा ढुंगाको फुटबल नखेली हिँडिरहेँ । लाग्यो, केटोले मलाई कतैबाट नियालिरहेको छ । बेसरी तन्काएर काटेको कपाल निधारमा छोटो हुन गएछ । माधुरी दीक्षितको जस्तो लर्कनुपर्ने जुल्फी, कुखुराको चल्लाको कपालझैँ फुरुर्र भयो । निधारमा फुर्फुराउने कपालले घरीघरी झर्को पनि लगाउँथ्यो । तर राम्रो देखिनुपर्ने बाध्यता थियो । म प्रत्येक कक्षापछि शौचालय जान्थेँ र जुल्फीलाई पानीले भिजाएर आउँथेँ । नम्बर ‘एट’ र म एउटै कक्षामा थियौं । ऊ घरीघरी पल्लो कुर्सीबाट मतिर आँखा पसार्थी । र, देख्थी मलाई कताकता हराइराखेको । साढे चार बज्ने पर्खाइमा मैले आठवटा कक्षा दिवास्वप्न हेरेर नै बिताएँ । स्कुल साढे तीन बजे छुट्टी भयो । हामी चार बजे छात्रावास पुग्यौं । साथीहरुको आग्रहमा मैले सेतो कुर्ता-सुरूवाल लगाएँ र साढे चार बजे रोटे पिङनिर पुगेँ । साथीहरु अपरेसन ‘आँखा-चार’लाई सफल बनाउन सेन्ट्रीमा तैनाथ भए ।

उनीहरुले मेट्रन, आया दिदी र अरु सिनियर दिदीहरुलाई निगरानी गर्न थाले ।

छतमा मैले आशिषलाई देखेँ । मेरो मस्तिष्क शून्य भयो । आशिष अग्लो थियो, केवल अग्लो । त्योबाहेक मैले सन्तोष गर्ने कुनै ठाउँ थिएन । चिम्सा आँखा, डाँडी नभएको नाक, कपाल ठाड्ठाडो, साउँलो वर्ण, दुब्लो-पातलो शरिर । त्यतिबेलासम्म मैले चाहेको केटाबारे मात्र कल्पना गरेकी थिएँ । जब आशिषलाई देखेँ, मैले नचाहेको केटाबारे पनि थाहा पाएँ ।

हरियो घर

छतबाट आशिष मुसुक्क मुस्कुरायो । सोचेँ, हाँस्दा पनि हिस्सी नदेखिने केटोसँग के नारिनु ! मुस्कानको जवाफ फर्काइनँ । चुप लागेर त्यहाँबाट फर्कें, अनुहार चुकिलो बनाउँदै । कस्तो ताइँ न तुइँको केटोले मन पराएछ भनेर साथीहरुले रेल्ला गर्छन् भन्ने थाहा थियो । त्यसैले मैले आफ्नो मुटु स्टेनलेस स्टिलझैँ दह्रो बनाए । पाँच बजेतिर डाइनिङ हलमा छिर्दा देखेँ, साथीहरु त अझ पनि छड्के नजर हरियो घरतिर लाउँदै रैछन् । मलाई देख्नेबित्तिकै साथीहरुले भने, ‘क्या टल है !’ लगत्तै नम्बर सेभेन्टी फोरले भनी, ‘क्या रफ एन्ड टफ है !’ रफ एन्ड टफ ? हैन कुन छेउबाट त्यस्तो देखी उसले ।

‘हो र भन्या ? मलाई त ….,’ मैले मुख बिगार्दै भनेँ । तर मेरो मन नपराइ मेरा प्यारा साथीहरुले पढ्न सकेनन् वा पढ्न चाहेनन् । मैले आफ्नो कुरा राख्नुभन्दा अगाडि नै उनीहरु आशिषको लम्बाइको चर्चामा जुटे । ‘पाँच पाँच कि पाँच छ ?’ केटाको हाइटसँग अलि बढी नै लगाव भएकी हामीभन्दा अग्ली नम्बर ‘एट’ अनुमान लगाउन थाली । टुप्लुक्क पि्रती आइपुगी, मुस्कुराउँदै । हामी बसेको टेबलमा बस्दै सोधी, ‘कस्तो लाग्यो त ?’ साथीहरुले उसको मुस्कान सापटी लिएर मुसुमुसु हाँस्दै मलाई हेरे । म भने अलि कूटनीतिक प्रतिक्रिया फुराउनुपर्‍यो भनेर कपाल कनाउन थालेँ । पि्रतीको मुखेन्जी आशिषको अनुहार मन परेन भन्न त भएन । भनेँ, ‘म भन्दा कान्छोलाई कसरी लभ गर्ने ? मलाई त भाइभाइजस्तो फिलिङ्स आइराछ ।’ ‘प्लिज शिवा, एभ्री थिङ इज फेयर इन लभ एन्ड वार ।’ नम्बर सेभेन्टिनले अटोबुकमा भर्ने गरेको ‘क्लिसे’ दोहोर्‍याई ।

(फाइनप्रिन्टले जेष्ठ १८ मा सार्वजनिक गर्न लागेको विभिन्न १० लेखकहरुको संस्मरणहरुको संग्रह ‘फस्ट लभ’मा रहेको शिवानीसिंह थारुको संस्मरणको अंश।)

Total : 1 comments

Santosh wrote on 2013-06-09,
Mero pani yestai yestai love story cha.... chapi dine ho?

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box