More Related Information

काग्रेस महाधिवेशन आजदेखि, सभापतिमा ५ जनाले उम्मेदवारी दिँदै
PDF Print E-mail

Wed, Mar 2nd, 2016 :

२०,फागुन,काठमाडौं ।  नेपाली कांग्रेसको १३ औं महाधिवेशनआजदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो १ बजे खुलामञ्चमा पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महाधिवेशन चार दिनसम्म चल्नेछ । झण्डै सात दशक लामो प्रजातान्त्रिक यात्रा तय गरेको कांग्रेसले साढे १ वर्ष ढिलो महाधिवेशन गरेको हो । 
महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र संसद बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि आमन्त्रण गरीएको छ ।

उद्घाटन कार्यक्रममा भाग लिन बिभिन्न देशका प्रतिनिधि पनि काठमाडौं आइसकेका छन् । महाधिवेशनले आउँदो चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीको नीति तथा कार्यक्रम पनि टुंगो लगाउनेछ ।

महाधिवेशनको बन्दसत्र शुक्रबारदेखि भुकृटीमण्डपमा सुरु हुने र नीति तथा कार्यक्रम पनि पेश हुने कांग्रेसले जनाएको छ । उद्घाटनका लागि मञ्च ब्यवस्थापन, भोजन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका काम सकिएको कांग्रेसले जनाएको छ ।

काठमाडौंका ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ । काँग्रेसका झण्डा फहराइएको छ । यसपटक सँधैजस्तो प्रचारप्रसारमा पर्चा पम्प्लेट प्रयोग नगर्ने निर्णय भएको कांग्रेसको प्रचार विभागले जनाएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी पर्ने भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ । 


बरिष्ठ नेता शेरबहादुर देउवाले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । उहाँले अर्जुन नरसिंह केसीलाई महामन्त्री र चित्रलेखा यादवलाई कोषाध्यक्ष सहित प्यानल घोषणाको तयारी गर्नुभएको हो । यस्तै नेता कुलबहादुर गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने हुनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सभापतिका आकांक्षी पौडेल, सिटौला, सुजाता, देउवा र गुरुङ पाँचैजनाले उम्मेदवारी मनोयनपत्र लगिसकेका छन् । केन्द्रीय निर्वाचन समितिले बिहीबार बिहान ८ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । 

आउँदो २३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नेतृत्वको लागि मतदान हुने कार्यक्रम छ । कांग्रेसमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने व्यवस्था छ ।
यसमध्ये खुलाबाट २५, सात प्रदेशबाट दुई दुई गरी १४, महिलाबाट ६, दलित, आदिवासी जनजाति र मधेसीबाट ५÷५ तथा मुस्लिमबाट एकजना केन्द्रीय सदस्य चुनिनेछन् ।

 

 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box